भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ


एजेन्सी ।  भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोज्दा प्रहरी र कांग्रेस कार्यकताबीच झडप समेत भएको थियो । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो ।

सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको जानकारी दिएको छ ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरुलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीन जनाको मृत्यु भएको दावी गरिएको छ ।