मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने लोसपाको निर्णय


काठमाडौंँ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ ।सोमबार बसेको लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले सो निर्णय गरेको हो । लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा नै असर परेको हुनाले मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सोनलले बताए ।

मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठेको र यसको जवाफ मुख्यमन्त्री कार्यालयले दिनुको सट्टा उल्टै आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकाछोप गर्ने प्रयास भइरहेको लोसपाले ठहर गरेको छ । प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको लोसपाको जिकिर छ ।

असोज २० गते प्रदेशसभाको बैठक बस्दैछ । सो बैठकमा पनि लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने बताइएको छ । लोसपाले मुख्यमन्त्री राउतको राजीनामालाई मुख्य एजेण्डा बनाएर संसद अवरोध गर्ने तयारी समेत गरेको छ ।