विद्युतीकरणको ठेक्का लाग्यो, काम सुरु भएन


जाजरकोट ।

एघार केभी प्रसारण लाइन डोल्पामा पु¥याउनका लागि अघिल्लो आर्थिक वर्षमा ठेक्का भए पनि काम सुरु हुनसकेको छैन । झण्डै रु सात करोडको ठेक्का अघिल्लो वर्ष खोलिएको तर काम सुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सुरेन्द्र अग्रहरिले बताउनुभयो ।

जाजरकोट नलगाड नगरपालिकाको चौखा स्टेशनबाट डोल्पाको त्रिपुराकोटसम्म कामको ठेक्का लिए पनि काम नगर्दा समस्या भइरहेको उहाँले बताउनुभयो । झण्डै ४२ किलोमिटर लम्बाइ रहेको छ । नमूना कन्स्ट्रक्शन रामेछापले ठेक्का लिएको उहाँले बताउनुभयो । लाइन विस्तारभन्दा पहिला गरिने प्रि–कन्स्ट्रक्शन सर्भेका लागि काम भए पनि सो काम त्रुटिपूर्ण भएपछि फेरि गल्ती सच्याउन तीन महिनाअघि पत्र लेखिएको उहाँले जानकारी दिनुभयो ।

सर्भे गर्दा गल्ती भएको ठाउँमा सच्याइ तुरुन्तै काम गर्न आग्रह गरिएको तर ठेकेदार सम्पर्कमा नरहेको प्रमुख अग्रहरिले बताउनुभयो । कोभिडको कारण देखाउँदै काम नगरेको निर्माण व्यवसायीलाई तुरुन्तै काम गर्न कार्यालयबाट ताकेता भइरहेको उहाँले जानकारी दिनुभयो ।

जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीसम्म ११ केभी प्रसारण लाइन पुगिसकेको छ । त्यहाँबाट चौखासम्माको विद्युत् प्रसारण लाइनको कामसमेत भइरहेको छ । जाजरकोटतर्फको पूरा काम भएमा मात्र डोल्पासम्म विद्युतीकरण गर्नका लागि बाटो खुल्ने देखिन्छ । प्रदेश कार्यालयबाट त्रिपुराकोटमा सबस्टेशन निर्माण गर्ने योजना रहेको छ भने केन्द्रबाट अन्य ठाउँमा पनि भएको बताएको छ ।

त्यस्तै जाजरकोटको बडावन र समाइलामा तिहारलगत्तै बोलपत्र हुने उहाँले बताउनुभयो । जाजरकोटको बारेकोट, कुशे र जुनिचाँदेमा लाइन विस्तारका लागि ठेकेदारको लापरबाहीका कारण काममा बाधा उत्पन्न भएको छ । केही योजना केन्द्र र केही प्रदेशबाट हुँदा काममा निगरानी कम भएको बताएको छ ।

एघार केभी प्रसारण लाइन छिटो डोल्पा पुगेमा त्यहाँ निर्माण हुन लागेको जगदुल्ला हाइडो«पावरको कामलाई समेत सहयोग पुग्ने देखिन्छ । अन्य सम्भाव्यता अध्ययन भइहेका भेरी ए, बी र सी आयोजनाको समेत काममा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नलगाड नगरपालिका–७ मा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको कामलाई समेत गति दिनका लागि पहल भइरहेको बताएको छ ।

केन्द्रबाट हुने काममा सबैभन्दा कम निगरानी हुँदा परिणाम निकाल्न समस्या भएको कर्मचारी बताउँछन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालिकोट राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएका छन् । कार्यालयका अनुसार प्रदेशभर सबैभन्दा बढी रुकुम पश्चिमका ७५।२ प्रतिशत र सबैभन्दा कम जाजरकोटमा १६।१५ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगकोे बताएको छ ।

कार्यालय प्रमुख सुरेन्द्र अग्रहरीका अनुसार सुर्खेतका ४८।१६ प्रतिशत, दैलेखका ४८।७३ प्रतिशत, कालिकोटका ४३।५७ प्रतिशत, मुगुमा १९।६४ प्रतिशत र हुम्लाका २९।६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा रहेको छ । यस्तै सल्यानका ५२।८८ प्रतिशत, डोल्पाका २१।९ प्रतिशत र जुम्लाका १९।३ प्रतिशत घरधुरी विद्युत् पहुँचमा छन् । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा कर्णालीलाई अँध्यारोमुक्त बनाउने भन्दै ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु गरेको थियो ।

सडक निर्माणको गती सुस्त

जाजरकोट–डोल्पा सडकखण्डको स्तरोन्नतिको काम सुस्त हुँदा अन्य विकास निर्माणका काममा समेत बाधा उत्पन्न भएको छ । पासागाड–रिम्ना सडकखण्डको काम सुरु गरेको दुई वर्ष भइसक्दा पनि एक मिटरसम्म कालोपत्र हुन नसक्नाले समस्या भएको छ ।

सडकको स्तरोन्नति र विद्युत्को काम सँगसँगै भए एकले अर्कालाई बाधा नपुगी बिनाक्षति काम हुने अपेक्षा लिइएको थियो । विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइसक्दा पनि तोकिएको समयमा सडक निर्माण नगर्दा प्रसारण लाइनमा समस्या ल्याउने आशङ्का गरिएको छ । जाजरकोट खण्डका ठूला पुल सडक डिभिजन चौरजहारीले निर्माण सम्पन्न गरेको र साना पुलमात्रै केही बाँकी रहेको बताएको छ ।