साकेलाको किवामा सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार


खोटाङ, १ असोज :

सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार गरेको छ । दूरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै साकेला गाउँपालिका–३ खिदिमाको किवामा केन्द्र स्थापना गरिएको हो ।

स्वास्थ्य सेवाका लागि स्वास्थ्यचौकीसम्म पुग्न टाढा पर्ने खण्डित भूगोलका नागरिकको सहजताका लागि स्थापना गरिएको सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र शुक्रबार साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले उद्घाटन गरेका छन् । बाह्य खोप केन्द्रको भवनलाई स्तरोन्नती गर्दै स्वास्थ्यचौकीकै मातहतमा रहनेगरी केन्द्र विस्तार गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

सामान्य स्वास्थ्य सेवाका लागि घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी एक जना अहेव, एक जना अनमी र कार्यालय सहयोगी तथा आवश्यक औषधिको व्यवस्था गरेर स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको छ । स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि गाउँपालिकाका अन्य खण्डित भूगोल तथा आवश्यक ठाउँमा क्रमशः सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गर्दै जाने योजना रहेको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र किवा गाउँपालिकाकै दोस्रो सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र हो । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको डाँडागाउँमा २०७७ साल कात्तिक २७ गते पहिलो सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको थियो । सामुदायिक स्वास्थ्य इकाई केन्द्र उद्घाटनका क्रममा गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का, खिदिमाकी वडाध्यक्ष शिवकला राई लगायतको उपस्थिति रहेको थियो ।