एमसीसी सम्झौता खारेजीको माग राखेर सीडीओ कार्यालय घेराउ


चितवन ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी सम्झौता विरोधी नारा र कालो झण्डा प्रदर्शन गर्दै शुक्रबार दिउँसो प्रशासन कार्यालय घेराउ गरेको हो ।

सिडिओ कार्यालयको उत्तर र दक्षिणतर्फबाट आएको दुई टोलीले कार्यालयअघि केही बेर प्रदर्शनसमेत गरेको थियो । प्रदर्शनका क्रममा ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘दलालहरु होसियार’ लगायतका नारा लगाइएको थियो । उनीहरुले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पनि नारा लगाएका थिए । सिडिओ कार्यालय घेराउ गर्ने कार्यक्रमको सूचना पाएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

एमसीसी सम्झौताभित्र राष्ट्रघाती बुँदाहरु समेटिएकाले उक्त सम्झौता खारेज नै गर्नुपर्ने एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनका अध्यक्ष फणिन्द्र आचार्यले बताए । ‘अमेरिकाले एमसीसी सम्झौता संशोधन गर्न नमिल्ने बताइसकेकाले अब त्यो खारेज गर्नुको विकल्प छैन,’ उनले भने ।

एमसीसी सम्झौता खारेजीको माग राखेर संघर्ष समितिले केही दिनदेखि लगातार कार्यक्रम गर्दै आएको छ । चितवनबाट संघीय संसदमा निर्वाचित भएका तीन जना सांसदलाई एमसीसी विरुद्ध उभिने कुरा सार्वजनिक रुपमा घोषणा गर्न समितिले अल्टिमेटम दिएको छ ।

अल्टिमेटमको अवधि आज साँझ ६ बजे सकिँदै छ । उक्त अवधिभित्र सार्वजनिक रुपमा एमसीसीको विरुद्धमा उभिने घोषणा नगरे उनीहरुको घर नजिक विरोध प्रदर्शन गर्ने र कालो झण्डा गाड्ने कार्यक्रम रहेको संघर्ष समितिका सचिव अजीव पौडेलले बताए ।