‘उद्योगी व्यवसायीहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर छ’


सुनसरी ।

सुनसरी प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । आर्थिक बन्दी, कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै उद्योग व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताएका हुन् ।

शनिबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यति बेला राजनीतिक परिस्थिति प्रतिकुल भएको बताए । परिस्थिति अनुकुल भएपछि सरकारले प्रदेश १ को आर्थिक अवस्था मजबुद बनाउन नयाँ योजना ल्याउने उनले बताए ।

क्याविनेटको पहिलो बैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरूबाट अनलाइन सेवा सञ्चालन गर्न निर्णय गरेको छ । कोभिड प्रभाव न्यूनिकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश सरकारको विकास र सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरूसँग हातेमालो गरेर अगाडी बढ्ने सरकारको नीति भएकाले सरकारलाई सहयोग गर्नसमेत उनले आग्रह गरेका छन् ।