रेडक्रसकर्मीद्वारा ३२ शवको निःशुल्क व्यवस्थापन


म्याग्दी ।

यहाँ पछिल्लो पाँच महिनाको अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीले निःशुल्क व्यवस्थापन गरेका छन् । स्थानीय तहले सञ्चालन गरेका कोरोना अस्पतालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापन गर्न गत वैशाखमा नेपाल रेडक्रस सोसाइटीले शाखाका उपमन्त्री सुरत केसीको नेतृत्वमा स्वयंसेवकको टोली बनाएको थियो ।

शाखा सभापति लेखबहादुर हमालले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव सरकारको मापदण्ड पूरा गरेर रेडक्रसकर्मीले निःशुल्क व्यवस्थापन गरेको जानकारी दिनुभयो । उपमन्त्री केसीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी आनन्द रिजाल, बेनी अस्पतालका कर्मचारी जनक सोनामलगायतका शव व्यवस्थापन गर्ने स्वयंसेवक टोली बनाइएको थियो ।

पहिलो र दोस्रो लहरको कोरोनाबाट म्याग्दीमा तीन हजारभन्दा बढी सङ्क्रमित भएका र १०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रेडक्रसको स्थापना दिवसका अवसरमा आज बेनीमा आयोजित कार्यक्रममा शाखाले कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापनको क्षेत्रमा गरेका गतिविधिका बारेमा जानकारी गराइएको थियो ।

सोही कार्यक्रममा पत्रकारका लागि पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष प्रकाश पौडेल र सचिव सन्तोष गौतमलाई दुई हजार थान सर्जिकल मास्क र ४० बोतल स्यानिटाइजर उपलब्ध गराइएको छ । रेडक्रसले विपद् व्यवस्थापन, बेनीमा रक्तसञ्चार गृह र दरबाङमा आँखा उपचार केन्द्र, तीनवटा एम्बुलेन्स सञ्चालनका साथै रघुगङ्गा गाउँपालिकाको बेग, दग्नाम र चिमखोलामा आइरिस रेडक्रसको सहयोगमा एक हजार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

कोरोना नियन्त्रणका लागि विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय, उपशाखालाई स्वास्थ्य सामग्री वितरण गरेको रेडक्रसको गोदाममा ४० हजारभन्दा बढी मास्क छन् । गत बर्खामा १४८ परिवारलाई नगद र राहत सामग्री तथा यसपालि ८० परिवारलाई राहत सामग्री उपलब्ध गराइएको थियो ।

रेडक्रसले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको रक्तसञ्चार गृहबाट सुविधा लिनेलाई स्थानीय तहहरूसँगको समन्वयमा निःशुल्क रगत परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ । त्यसका लागि रघुगङ्गा गाउँपालिकाले रु एक लाख र जिससले रु एक लाख उपलब्ध गराएका छन् । रेडक्रसले दरबाङमा सञ्चालन गरेको आँखा उपचार केन्द्र भने व्ययभार थेग्न नसकेपछि बन्द गर्नुपर्ने अवस्था आएको सभापति हमालले बताउनुभयो ।
–––