पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता


काठमाडौं, १८ भदौ ।

पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा  नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएकोका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पहिरोमा पुरिएका ५ जनामध्ये २ जना मृत अवस्थामा फेला परेको जानकारी दिए । १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको र ३ जना बेपत्ता रहेकाले खोजी भइरहेको उनले बताए ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए । यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।