अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, २० वर्षे युद्धको अन्त्य


काठमाडौं ।

अमेरिकाले अन्ततस् अफगानिस्तान छाडेको छ । अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ ।

अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले देश छोड्न अमेरिकालाई ३१ अगस्ट अर्थात आजसम्मको समय दिएको थियो । अमेरिकी सेनाले समयसीमाको एक दिन अघि नै काबुल छोडेको हो । अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो । यो विमान उडेसँगै अफगानिस्तानमा दुई दशक लामो अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सैन्य अभियान अन्त्य भएको घोषणा गरेका छन् । उनले वक्तव्य जारी गर्दै तालिवानले काबुल नियन्त्रणमा लिएपछिको १७ दिन अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा जोखिम अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताए ।

अमेरिकी सेनाले काबुल छोडेसँगै तालिवानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् । युएस सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केनेथ मेकेन्जीले पछिल्लो १७ दिनमा अमेरिकाले ६ हजार अमेरिकी नागरिकसहित काबुलबाट ७९ हजार मानिसको उद्धार गरेको बताएका छन् । अमेरिकाले ११ सेप्टेम्बर २००१ मा अफगानिस्तानमा तालिवानविरुद्ध सैन्य अभियान सुरु गरेको थियो ।