चीनमा अब सात वर्षसम्मका विद्यार्थीले परीक्षा दिन नपर्ने


एजेन्सी ।

चीनमा अब ६ र सात वर्षका बालबालिकाले परीक्षा दिनु नपर्ने भएको छ । उच्च प्रतिष्प्रर्धात्मक शिक्षा प्रणालीमा पढाइबारे विद्यार्थी तथा अभिभावको तनाब बढिरहेका बेला चीन सरकारले यस्तो निर्णय गरेको हो । यसअघि प्राथमिक तहको पहिलो वर्षदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले परीक्षा दिनुपर्दथ्यो । तर, सो अभ्यास विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘परीक्षा विद्यालय शिक्षाको आवश्यक अंश हो ।’ तर, केही विद्यालयमा धेरै परीक्षा सञ्चालन गरिन्छ, जसकारण विद्यार्थी र अभिभावक दुवैलाई बोझ हुने गरेको छ । नयाँ नियमअनुसार विद्यालयले लिने परीक्षा संख्या पनि घटाइएको छ ।

‘प्राथमिक विद्यालयका पहिलो र दोस्रो कक्षाका विद्यार्थीले पेपरमा आधारित लिखित जाँच दिनुपर्दैन । अन्य कक्षाका लागि विद्यालयले अन्तिम परीक्षा सञ्चालन गर्न सक्नेछ । निम्न माध्यामिक विद्यालयका लागि अर्धवार्षिक परीक्षा गर्न अनुमति दिइएको छ,’ मन्त्रालयले भनेको छ । त्यस्तै, जुनियर र सिनियर तह हेरी साप्ताहिक टेस्ट, मासिक परीक्षामा पनि नयाँ व्यवस्था गरेको छ ।

सरकारको पछिल्लो निर्णयप्रति सामाजिक सञ्जालका प्रयोगकर्ताले सकरात्मक प्रतिकृया दिएका छन् । नयाँ नियमले बालबालिकालाई दबाबबाट मुक्त गर्ने धेरैको विश्वास छ । तर केहीले परीक्षाबिना नै विद्यालयले विद्यार्थीको मुल्यांकन गर्न नमिल्ने बताएका छन् ।