एमाले महाधिवेशन : अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा


काठमाडौं : एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगको भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् ।

एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताए । ‘मलाई अध्यक्ष पद डिजर्भ गर्छ,’ उनले भने । आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ ।

अहिलेसम्म एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरु कसैले पनि नेतृत्वमा दाबी गरेको छैन । ओलीले फेरि एकपटक नेतृत्वमा दोहोरिने इच्छा प्रकट गरेका छन् । ओली निकट नेता शंकर पोखरेलले केही समयअघि नै ओलीकै नेतृत्वमा पार्टी चुनाव र सरकारमा जाने घोषणा गरिसकेका छन् । एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता बनेका छन् ।