दलित समुदायलाई वितरण गरिएको धुवाँरहीत चुल्हो खरिदमा अनियमितता


जाजरकोट : जाजरकोटको भेरी नगरपालिका- ११ कटी गाउँस्थित दलित वस्तीमा वितरण गरिएको धुवाँरहीत चुल्हो खरिदमा अनियमितता भएको पाइएको छ । धुवाँरहीत आधुनिक फलामे चुल्हो वितरण गर्ने भनि सम्झौता गरिए पनि टिनको कमसल खालको चुल्हो वितरण गरिएको हो । पूर्ण जातीय छुवाछुतमुक्त अभियान अन्र्तगत चुल्हो किनेर वितरण गरिएको थियो ।

टिनको चुल्हो भएकोले बाल्ने वित्तिकै निकै तातिने र टुट्ने थालेपछि भएपछि प्रयोग गर्न छोडेको स्थानीय दलबहादुर कामीले बताए  ।चौरजहारीमा १७ सय पर्ने चुल्होलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली विल पेश भएको दाबी गरिएको छ ।

भेरी नगरपालिकाले चुल्होे खरीद र वितरणका लागि कटीगाँउ कृषक समूहसँग सम्झौता गरेको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । समितिका अध्यक्ष नरबहादुर आफूलाई फसाइएको बताउँछन् । सस्तोमा खरीद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर ठग्ने कार्य भएको उनको दाबी छ ।

उनका अनुसार कोषाध्यक्षका श्रीमान अमृत वर कामीले नै एक सय ३८ चुल्हो खरीद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरूले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुल्हो किनेर ल्याएको उनले बताए ।

अध्यक्ष नरबहादुरले नगरबाट १३ लाख ५६ हजार रुपैयाँ निकासा भएकोमा सम्झौता अनुसार अनुगमन र केही चुल्हो खरीदका लागि दुई लाख ५० हजार रुपैयाँ नगरपालिकालाई दिएको बताए । त्यस रकमबाट २० वटा चुल्हो किनेर उपलब्ध गराएको बताए ।

नगरले उपलब्ध गराएका चुल्हो राम्रो भएको तर समितिले खरीद गरेका चुल्हो निकै कमसल भएको उनले स्वीकार गरे ।कोषाध्यक्षका श्रीमान अमृतले विपन्न गाउँमा चुल्हो कार्यक्रमका लागि आफूले पहल गरे पनि खरीदमा आफ्नो संलग्नता नभएको दावी गरे ।

भेरी नगरपालिका-११ नम्बरका वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुल्हो कमसल रहेको भन्दै स्थानीयबाट गुनासो आएको बताए । नगरपालिकाले पूर्ण जातीय छुवाछुतमुक्त अभियान अन्तर्गत १४ लाख ७५ हजार रुपैयाँ गत असार ११ गते सम्झौता गरेर निकासा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताए ।