पहिरो पन्छाएपछि मुग्लिन सडक सञ्चालनमा, नारायणीले खतराको तह नाघ्यो


चितवन ।

बिहीवारदेखि परेको अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । बिहीवार साँझ सेती दोभानमा पहिरो जाँदा अबरुद्ध भएको राजमार्ग शुक्रवार दिउँसोबाट सञ्चालनमा आएको हो । शुक्रवार पनि दिनभरी वर्षा हुँदा सो सडकखण्डमा सडक भासिएको छ ।

चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

चौधकिलोमा ३८ मिटर लामो भाग भासिएको छ । बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको खनालले जानकारी दिए । ‘दुई मिटर गहिराइसम्म सडक भासिएको छ,’ खनालले भने, ‘सो ठाउँमा सडक १३-१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन ।’ भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उनको भनाइ छ ।

सडक भासिएपछि केही समय यतायात अवरुद्ध भएको थियो, पछि सन्चालनमा आएको छ । सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिए ।

सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको छ । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा छ । नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने कायमै छ ।

दिउँसो केही ठाउमा पहिरो खस्ने र एक आधा घण्टा रोकिए पनि अहिले सडकमा अवरोध नभएको उनले जानकरी दिए । ‘पानी नपरेको अवस्थामा पहिरो नझरे सडक रोकिँदैन,’ उनले भने । यसैबिच निरन्तरको वर्षाले नारायणी नदीमा बाढीले खतराको तह नाघेको छ । खतराको तह पार गरेकाले सर्तक रहन प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।