निर्माण सम्पन्न नहुँदै भत्कियो सहिद पार्कको पर्खाल


काठमाडौं ।

सर्लाहीको बरहथवा नगरपालिका–२ को हजरियामा निर्माणाधीन अवस्थामा रहेको सहिद पार्कको पर्खाल भत्किएको छ । आन्तरिक स्रोतमार्फत निर्माणाधीन सहिद पार्क निर्माणकै चरणमा भत्किएको हो । नगरपालिकाले आन्तरिक स्रोततर्फबाट आव ०७७–७८ मा ३३ लाख रुपैयाँ बजेट छुट्टयाइएको योजना शाखाका प्रमुख कमलप्रसाद पौडेलले जानकारी दिए । नगरको आन्तरिक स्रोत खर्च गर्ने योजनामा निर्माणाधीन अवस्थामै कमसल देखिनु दुखद रहेको स्थानीय बताउँछन् ।

सहिद पार्क निर्माण गर्न वैशाख अन्तिम साता नगरपालिकाले आशीष पौडेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । समितिबाट निर्माण भएको पार्कको पर्खालमा कमसल निर्माण सामग्री र लापरबाही भएकाले भत्किएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय विकास गौतमले सहिद पार्क कमसल हुनु दुखद रहेको बताए । ‘यहाँ कमिसनको लागि मात्र काम गर्ने गरिन्छ । आन्तरिक स्रोत नै प्रयोग गर्नुपर्ने र निर्माण गरिहाल्नुपर्ने योजना अहिलेलाई यो होइन,’ उनले भने । उनले नगरपालिकाका मेयर देवानन्द महतोको समेत मिलेमतो हुनसक्ने आशंका व्यक्त गरे ।

साविक हजरिया गाविसको खेलमैदान नजिकै विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका सहिदहरूको सम्झनामा शालिक निर्माण गर्ने उद्देश्यले सहिद पार्क निर्माणका लागि छुट्टयाइएको ३३ लाख रुपैयाँ बजेट सबै भुक्तानी भइसकेको बताएको छ ।

बरहथवा नगरपालिका–२ का वडाध्यक्ष यज्ञबहादुर खड्काले पार्क निर्माणका लागि छुट्याइएको रकम वडाको नभएको र वडासँग कुनै समन्वय नगरी काम भएकाले त्यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । यस विषयमा मेयर महतोसँग कुराकानी गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

यद्यपि स्थानीयले भने शीर्षकमा रहेको पैसा खर्च गर्न मनलाग्दी योजना बनाइएको आरोप लगाएका छन् । स्थानीय युवा राधेश्याम महतोले स्थानीय सरकार भए पनि आफूहरूसँग छलफल नै नगरी योजना बन्ने गरेको बताए । ‘स्थानीयसँग छलफल गरेर प्राथमिकतामा पर्ने योजनालाई अगाडि ल्याउनुपर्ने हो, तर यहाँ त कमिसनको चलखेल हुन्छ, उनले भने ।