तेस्रो कृति “दुङाल” लिएर आए उपन्यासकार मालिका केशरी


काठमाडौं: साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान “दुङाल” सार्वजनिक भएको छ । कृतिको संघीय राजधानीमा एक समारोहकावीच  विमोचन गरिएको हो । उपन्यासलाई इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा.सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्तरुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले भने, “उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ ।

आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले दुङाल पाठकलाई रोचक र घोचक कोसेली हो ।” यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराई छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन्। उनले भनिन्, “शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् ।

अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजको यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।” तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।

यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए । उनले भने, “साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं ।

उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढि सकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।” उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।  आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण “दुङाल” जन्मेको बताए ।

“देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त रु भन्ने प्रश्नले घच्घचाएपछि उपन्यास नलेखी बस्न सकिनँ”, उपन्यासकार केशरीले भने । साहित्यकार मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास “पुनरुत्थान” र “सुवर्णलता” प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको “दुङाल” उनको तेस्रो उपन्यास हो ।