नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण


काठमाडौं : नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म नौ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

यस्तै प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५६० जनालाई रु ४६ हजार जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार ७८४ जनालाई रोकेर सम्झाइबुझाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।