सीप पाएपछि व्यावसायिक बन्दै तेह्रथुमका महिला


तेह्रथुम ।

हातमा सिप नहुँदा सामान्य खर्चसमेत श्रीमानकै भर पर्नु पर्छ महिलाहरुलाई । सिप नभएकै कारण घरयासी काम र मेलापर्ममा रमाउनु पर्ने वाध्यता अझै हटेको छैन । तर, तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्माका महिलाहरु ढाका बुनाईसम्बन्धी सिप पाएसँगै व्यावसायिक बन्न थालेका छन् ।

गरिबी निवारणका लागि लघु उद्यम विकास मेडपाले सञ्चालन गरेको ढाका बुनाई तालिममा सिप पाएसँगै यहाँका महिलाहरु व्यावसायियक बन्न थालेका हुन । ‘महिलाहरुले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्दै सिप लिन सके महिला व्यावसायिक बन्न सक्ने विश्वास छ’, अनु राना मगरले बताइन् ।

तेह्रथुमे ढाकाले परिचित बनेको यो व्यावसायमा बजारको समस्या छैन । लालिगुराँस नगरपालिकाको सहयोगमा सञ्चालन भएको तीन महिने तालिममा १० जना महिलाहरुले सिप लिएका थिए । सिप पाएपछि यहाँका महिलाहरु यतिबेला घरमै व्यावसाय सुरु गर्न थालेका नगरपालिकाका उपप्रमुख तिला पोखरेलले बताइन् ।

यहाँ उत्पादन भएको ढाका स्वदेश तथा विदेशका विभिन्न मुलुकहरुमा खपत हुँदै आएको छ । ग्रामिण क्षेत्रका महिलाहरुलाई व्यावसायिक बनाउने उद्देश्यकासाथ सिप प्रदान दिँदै आएको उपप्रमुख पोखरेलको भनाइ छ ।

ग्रामिण क्षेत्रका महिलाहरुलाई व्यावसायिक बनाउने उद्देश्य साथ विभिन्न सिपहरु प्रदान गर्दै आएको मेडपाका कार्यक्रम संयोजक छात्र श्रेष्ठले बताए । सिपलाई निरन्तरता दिँदै व्यावसायिक बन्न सके महिलाहरुले घरमै बसेर राम्रो आम्दानी लिन सक्नेछन् । आर्थिकरूपमा विपन्न परिवारका महिलाहरूलाई स्थानीय सरकारले दिएको सिपले जीविकोपार्जन गर्नसमेत सहज बन्ने छ ।