मुख्यमन्त्रीले गरे नियमविपरीत काठमाडौंमा कार्यालय राखेर ७ लाख दुरुपयोग


धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नियम विपरीत काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर करिब ७ लाख बजेट दुरुपयोग गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर बजेट दुरुपयोग गरिएको छ ।

काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्नु कानूनी व्यवस्था र नीतिगत निर्णय विपरीत रहेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंमा कार्यालय स्थापना गर्नुको औचित्यसमेत प्रष्ट नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सरकार र संघीय सरकार बिच समन्वय गर्न प्रदेश प्रमुखको व्यवस्था गरिएको भए पनि सरकारले त्यसविपरीत सम्पर्क कार्यालय स्थापना गरेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंमा कार्यालय स्थापना गरेर प्रदेश सरकारले टेलिभिजन, कम्प्युटर, फर्निचर खरीद र कार्यालय मर्मत तथा रंगरोगनमा ६ लाख ८५ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।