समयमै मल पाउँदा किसान खुसी, उत्पादन वृद्धि हुने आशा


दैलेख।

यस वर्ष समयमै रासायनिक मल पाउँदा दैलेख र सुर्खेतका किसानाहरू खुसी भएका छन् । विगतका वर्षहरूमा समयमै मल नपाएर सास्ती भोग्नु परेका किसानले यस वर्ष समयमै मल पाएका छन् । समयमै मल पाएपछि किसानले यस वर्ष समयमै धान गोडमेलसमेत गरेका छन् ।

दैलेखको ठाटीकाँध गाउँपालिका – २ का हितेन्द्र सुजीले यस वर्ष मल अभाव झेल्नु नपरेको सुनाए । समयमै मल पाउँदा खेतवारी गोडमेल गर्न भ्याएको उनले बताए । ‘विगतका वर्षमा मलको लागि ठाउँठाउँमा धाउँदै हैरान हुन्थ्यो, यस वर्ष भने समयै मल पाइयो खुशी लागेको छ।’  उनले भने,‘यो वर्ष बजारमा मल पुगेपछि समयमै खेतवारी गोडमेल गरियो, उत्पादन पनि राम्रै होला भन्ने आशा गरेका छौं।’

यस्तै सुर्खेत वीरेन्द्रनगर –६ का पुर्णलाल चौधरीले पनि यस वर्ष समयमै मल पाएको बताए। ुविगतका वर्षमा मल नपाएर भौतारिनु पर्दथ्यो, यो वर्ष भने समयमै रासायनिक मल पाउँदा किसान सबै खुशी छौं।ु कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले यो वर्ष समयमै मल उपलब्ध गराएको छ । यो वर्ष समयमै मल पाएर समयमै खेतवारी गोड्मेल गर्न पाउदा निकै खुशी भएको वीरेन्द्रनगर-२ की रमा उपाध्याले सुनाइन् ।

‘गतसाल मल अभावले निकै भौतारिनु परेको थियो, मलको अभावमै खेतवारी गोडमेल गर्नुपरेको थियोु उनले भनिन्’यो वर्ष समयमै मल आउँदा निकै खुशी छौं, समयमै खेतवारीमा रासायनिक मल छर्दा उत्पादनमा पनि वृद्धि हुन्छ भन्ने आश छ ।’  साउनमा मात्र कर्णालीमा ६ सय मेट्रिकटन मल भित्रिएको छ ।

जसमा चार सय ८८ मेट्रिकटन युरिया, ९७ मेट्रिकटन डिएपी र २१ मेट्रिकटन पोटास गरी ६ सय मेट्रिकटन मल भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी सुन्दर केसीले जानकारी दिए । गत वर्ष पर्याप्त मात्रामा मल आए पनि व्यवस्थापनको पाटो नमिल्दा मल वितरणमा समस्या भएको उनले बताए ।