सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको लबिङ, छोड्न तयार छैन माओवादी


धनगढी ।

नेकपा एमाले विभाजित भएसँगै सुदूरपश्चिमको राजनीतिक समीकरण फेरिने सम्भावना बढेको छ ।माधव कुमार नेपालले नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरेलगत्तै एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य अहिले संघीय राजधानी काठमाडौं गएका छन् । काठमाडौंमा उनीहरुले अध्यक्ष नेपाललाई आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै दबाब दिँदै आएका छन् ।

मुख्यमत्रीको लाइनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घ सोडारी रहेको एमाले निकट नेता बताउँछन् । ‘एमाले फुटेर नेपालले नयाँ दल दर्ता गरेसँगै सोडारीलगायत केही नेता काठमाडौंमा छन्,’ सोडारी निकट एक नेताले भने, ‘उनीहरुले नेपाललाई मुख्यमन्त्रीका लागि सहमति गर्न दबाब दिइरहेका छन्, नेपालले पनि यस विषयमा छलफल चलाएका छन् ।’

एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका २५ सदस्यमध्ये यसअघि १७ जनाले माधव समूहलाई समर्थन गर्दै आएका थिए । पार्टी फुट्दा सुदूरपश्चिममा मुख्यमन्त्री पाए ती सांसदमध्ये अधिकांशलाई आफ्नै समूहमा रोक्न सकिने सोडारीलगायत नेताको दावी छ ।

‘भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका दीर्घ सोडारीसँगै हाल आन्तरिक मामिला तथा कानून मन्त्री रहेकी पूर्णा जोशी र पूर्व मन्त्री माया भट्ट माधव नेपालले दर्ता गरेको पार्टीमा लागिसकेका छन्,’ प्रदेशसभाका एक सदस्यले भने, ‘मुख्यमन्त्री पाउँदा अरु सांसदलाई पनि पार्टीमा ल्याउन सकिन्छ भन्ने हो ।’

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र संसद पुनर्स्थापना गर्न माधव नेपालले ठूलो सहयोग गरेका कारण कांग्रेस र माओवादीले सुदूरपश्चिममा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री दिने यहाँका नेताको ठम्याइ छ । ‘संसद पुनर्स्थापनामा सहकार्य गरेका माओवादी र कांग्रेसले दुई मुख्यमन्त्री पाइसकेका छन्,’ सोडारीनिकट एक नेताले भने, ‘माधव नेपाललाई पनि सम्मान गर्नुपर्छ भनेर हामीले यहाँ मुख्यमन्त्री मागेका हौं, त्यो सम्भव पनि छ ।’

ती नेताकाअनुसार नेपाललाई प्रदेश नम्बर १ र सुदूरपचिममा सरकारको नेतृत्व दिने अवसर छ । प्रदेश १ का सांसदले पनि राजेन्द्र राईको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाउनुपर्ने भन्दै लविङ गरिरहेका छन् । तर सुदूरपश्चिममा सरकारको नेतृत्व गर्दा पार्टीमा धेरै प्रदेशसभा सदस्यलाई ल्याउन सकिन्छ भन्ने हाम्रो धारणा हो,’ सोडारीनिकट ती नेता भन्छन्, ‘अन्यथा सुदूरपश्चिममा हाम्रो पकड कमजोर हुनेछ ।’

हाल सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह छन् । उनी माधव समूहले दर्ता गरेको नयाँ पार्टीमा जाने सम्भावना कम देखिएको छ । त्यस्तो अवस्थामा माधव समूहको पार्टीले संसदीय दलको नेता नयाँ छनोट गर्नेछ । एमाले सुदूरपश्चिमको संसदीय दलमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीको प्रभाव बलियो छ । माधवकुमार नेपाल र भीम रावलनिकट मानिने सोडारीको पकड पनि राम्रो रहेको बताइन्छ । उनले धेरै प्रदेशसभा सदस्यलाई आफूसँगै लैजाने दावीसमेत गर्दै आएका छन् ।

हाल काठमाडौंमा रहेका सोडारीले नेपालले खोलेको नयाँ पार्टी नेकपा एकीकृत (समाजवादी) मा जाने बताएका छन् । ‘सुरुमा माधव पक्षघरलाई एक बनाउनेमा हाम्रो ध्यान केन्द्रीत छ,’ उनले भने, ‘ओलीले हामीभित्र पनि विवाद ल्याउन खोजिरहेका छन्, भागबण्डामा हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाए मुख्यमन्त्रीमा सम्भावना छ ।’

सुदूरपश्चिममा एमालेका २५ प्रदेशसभा सदस्यमध्ये १७ जनाले यसअघि माधव समूहलाई साथ दिएका थिए । ७ जनाले ओली समूहलाई रोजेका थिए भने १ जना सभामुख छन् ।

माओवादी तयार छैन सरकार छोड्न

प्रदेश सरकारले स्थापनादेखि नै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्दै आएको नेकपा माओवादी केन्द्र सरकारको तेतृत्व छोड्ने मनसायमा देखिएको छैन । हाल मुख्यमन्त्री रहेका त्रिलोचन भट्टको कार्यशैलीप्रति माओवादीकै नेता असन्तुष्ट रहँदै आएका छन् । तर आफ्नै नेतृत्वमा रहेको सरकार छाड्न नहुने मत माओवादी नेताको छ ।

माओवादी केन्द्रका प्रभावशाली नेता खगराज भट्टले आफ्नै पार्टीको नेतृत्वमा सरकार कायमै रहने दाबी गरे । ‘पार्टीभित्रका समस्यालाई आन्तरिक छलफल गरेर टुङ्ग्याउन सकिन्छ,’ उनले भने, ‘तर नेतृत्व फेर्नुपर्छ भन्ने हाम्रो धारणा हैन ।’

उनले आफ्नै पार्टीको नेतृत्व रहनेगरी पात्र फेर्न भने सकिने बताए । पार्टीभित्र धेरै सक्षम नेता रहेको बताउँदै उनले सबैले पालो पाउनुपर्ने बताए । तर केन्द्रमा हुने सहमतिलाई भने नकार्न नसकिने उनको भनाइ छ । ‘राष्ट्रिय महत्व हेरेर पार्टीले केन्द्रमा कुनै सहमति गरेमा त्यसलाई नकार्न त सकिँदैन,’ उनले भने, ‘हालसम्म केन्द्रमा त्यस विषयमा कुनै छलफल भने भएको छैन ।’