नेपालमा अपराध गरेर भारत लुकेका एक जनाको गोली हानी हत्या


रौतहट ।

एक नेपालीको भारतमा गोली हानी हत्या भएको छ । रौतहटको परोहा नगरपालिका बसन्तपट्टी टोल घर भएका अन्दाजी ४५ वर्षीय बिर्वासनी भनिने बिन्दवासिनी सहनीको हत्या भएको हो । उनको भारतको मोतिहारीमा गोलीहानी हत्या भएको तस्विर सार्वजनिक भएको छ ।

तत्कालीन बसन्तपट्टी गाविसका अध्यक्ष जोगिन्द्र सहनीका छोरा बिन्दवासिनीको शुक्रबार बिहान भारतको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चम्पापुर बखरी नजिकै गोली हानी हत्या गरेको बताइएको छ । उनको शव सडक किनारमा धान खेतमा भेटिएको छ । उनलाई भारतीय नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेको बेला गोली हानेको बताइएको छ ।

सहनीको घाटी र कन्चटमा गोली लागेको छ । उनको शवसँगै उनले प्रयोग गरेको मोटरसाइकल पनि भेटिएको छ । नेपालमा थुप्रै अपराधिक क्रियाकलापमा संलग्न रहेका उनी भारतमै लुकेर बसेका थिए । नेपाल प्रहरीको खोजीको सूचीमा रहेका सहनी हत्या, अपहरण, फिरौतीलगायतका मुद्दाका आरोपी हुन् । द्वन्द्वकालमा नेपाल प्रहरीको सहयोगी ९घुमुवा० बनेर माओवादी समर्थक तथा कार्यकर्तालाई दुस्ख दिने, हत्यासमेत गर्न लगाएको आरोप उनीमाथि माओवादीले लगाएको छ ।

सहनीलाई अदालतले २० वर्ष सजायसमेत सुनाएको बुझिएको छ । उनको हत्याबारे नोपल प्रहरीले केही बताएको छैन । सहनीको शव भारतबाट ल्याएको पारिवारिक स्रोतले जनाएको छ ।