अझै आएन अस्मिताको भिसेरा रिपोर्ट, न्याय माग्दै परशुराम नगरपालिका घेराउ


डडेल्धुरा ।

मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको न्यायको लागि भन्दै संघर्ष समितिले परशुराम नगरपालिका घेराउ गरेको छ। शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले ‘अस्मितालाई न्याय दे, बलात्कारीलाई फाँसी दे, सहमति कार्यान्वयन गर, महिला हिंसा बन्द गर’ जस्ता नारा लगाउँदै नगरपालिका घेराउ गरेका हुन्।

नगरपालिकाले सात लाख ५० हजार र वडाबाट दुई लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय भएको थियो। तर, हालसम्म नगरपालिकाले राहत स्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए। अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो। तर, सहमति कार्यान्वयनमा भने नगरपालिकाले चासो नदिएको बोहराको आरोप छ।

नगरप्रमुख भीमबहादुर साउँदले सहमति चाँडै कार्यान्वयन हुने र शव बुझ्न आग्रह गरेका थिए। नगरप्रमुख साउँदको आग्रह र कार्यपालिकाको बैठकले राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए। जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपगर्नेलगायतका माग राखेका थिए। यी मागहरू पनि नगरपालिकाले सम्बोधन नगरेको संयोजक बोहराले जानकारी दिए ।

अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भएपनि नियुक्ति पत्र भने नगरपालिकाले अझै नदिएको उनले बताए। यस विषयमा परशुराम नगरपालिकाले दिने भनेको साढे सात लाख रूपैयाँ यो आर्थिक वर्षमा दिइने जनाएको छ।

यसका साथै नियुक्ति पत्र दिने प्रक्रिया पनि स्वास्थ्य शाखाले अगाडि बढाइरहेको बताएइको छ। यसअघि संघर्स समितिले घटनाको सत्य तथ्य छानबिन गरिदिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको थियो। गत असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसबाट कुनै ठोस प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ। जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ।