इटहरी उपमहानगरले ल्यायो घरबाटै कर तिर्ने सुविधा


सुनसरी ।

इटहरी उपमहानगरपालिकाले अब घरमै बसेर कर तिर्न सकिने व्यवस्था मिलाएको छ । मोबाइलको इसेवा एपबाटै सम्पति कर, ब्यवसाय कर, बहाल कर तिर्न सकिने भएको हो । नगर प्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका छन् ।

घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गरिन् । नगर प्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस बनाउने अवधारणा अन्तर्गत अनलाइनबाटै कर तिर्ने सेवा सुरु गरिएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अघिकृत भोजकला दवाडीले घरवाटै कर तिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुट्किलो र पारदर्शिताको अङ्ग रहेको बताए ।

राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले मोबाइलबाटै कति कर तिर्न छ भनेर हेर्न, लेखाजोखा गर्न र तिरिसकेपछि बिल प्रिन्ट गर्न सकिने बताए । कर भुक्तानी गरेपछि सम्बन्धित ब्यक्तिको इमेलमा बिल आउने छ । मोबाइलमा तत्काल जानकारी आउने छ ।