पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न महानिरीक्षक थापाको निर्देशन


२ भदौ, काठमाडौं ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न जरुरी रहेको बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयबाट बुधबार भिडियो कन्फ्रेन्सद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुखहरु, सबै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण लक्षित विषयमा निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनिती तयार गरी अगाडि बढ्न समेत निर्देशन दिनुभयो । ड्युटी गर्ने शिलशिलामा आफ्नो ज्यानको बारेमा सजग हुन आग्रह गर्दै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुका साथै आर्थिक पारदर्शिता तथा शुन्य सहनशीलता नीति अनुरुप कार्य सम्पादन गर्न उहाँले बताउनुभयो ।

आफूले सम्पादन गर्नुपर्ने जिम्मेवारी परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोग गर्नुका साथै कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै आफ्नो र मातहत कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सावधानी अपनाई जिम्मेवारी वहन गर्न समेत उहाँले बताउनुभयो । स्थानीयस्तरबाट प्रहरीको भौतिक संरचना, सिसिटिभि जडान जस्ता कार्यक्रममा स्थानीयतह, जनप्रतिनिधिहरु र संघसंस्थासँग समन्वय गरी ट्राफिक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गरी कार्य प्रगति प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।