विद्युत प्राधिकरणलाई उत्कृष्ट सेवा प्रदान गर्ने संस्था बनाउछौः घिसिङ


१ भदौ, काठमाडौं ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयो ।

विद्युत माग र खपत बृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो । ‘माथिल्लो तामाकोसी जलविद्युत आयोजनालगायतका आयोजनाहरुबाट उत्पादित विद्युत विक्रिको लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीय बजारमा विक्रि गर्न आवश्यक प्रबन्ध मिलाइने छ’,उहाँले भन्नुभयो ।

‘स्वदेशमै विद्युत खपत बृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभै देशको आर्थिक र सामाजिक विकासमासमेत सकारात्मक प्रभाव पर्छ, त्यसैले विद्युत खपत बृद्धिको पूर्वाधार निर्माण, ग्रामिण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरुप जनचेतना अभिबृद्धि गर्नेसमेतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।’
संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताहरुलाई उत्कृष्टरुपमा सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सबल प्राधिकरणको निर्माण गर्न सम्पूर्ण प्रयासहरु केन्द्रित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।