उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता


११ साउन, काठमाडौं ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए । जेलमा रहेका सांसद रेमश चौधरी निर्वाचन आयोगमा पुगेपनि तटस्थ रहे । जसपाको विवाद निरुपणका लागि आयोगले आज पार्टीका सबै कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराएको थियो । जसपाको आधिकारिकताबारे निर्णय लिन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । उक्त इजलासले यही साउन ३ देखि ६ गतेसम्म कानूनी बहस सकेर आज आयोगमा कागजातसहित उपस्थित हुन कार्यकारिणी समितिका सम्पूर्ण सदस्यलाई आग्रह गरेको थियो । आयोगको निर्णयपछि जसपाको अर्को पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खुलेको छ । एक वर्षअघि पार्टी एकीकरण भएको जसपा सत्ता समीकरणको विषयलाई लिएर अध्यक्ष यादव र अर्का अध्यक्ष ठाकुर पक्षबीच विवाद देखिएको थियो ।