महासेठको चेतावनीः राष्ट्रपतिमाथि महाभियोग लगाएर त हेर, त्यसपछि के हुन्छ ?


११ साउन, काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् । उनले भने,‘कुनैपनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिईँदैन् । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन् । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन् ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेकोसाक्षात्कारमा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् । अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’

उनले पार्टीभित्र अहिलेको परिस्थिति सिर्जनामा हुनुमा २०७७ पुष ५ गतेतर्फ फर्कनुपर्ने सुनाए । उनले भने,‘जतिबेला हामी पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका थियौं, यतिवेला केही सांसदहरु संसद्को विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिकहाँ जानुभएको थियो, जुन कुरा बैठकमा थाहा भयो, त्यसबारे पनि व्यापक छलफल भएको थियो । साथीहरुले तत्कालिन प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हाल्नेगरि संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुभयो, त्यही कारणले संसद् भंग भएको हो । यो तितो यर्थाथ हो । अहिले बाग्मतीमा धेरै पानी बगिसेको छ ।’ देशी÷विदेशी शक्तिहरुले पार्टी विभाजन गर्न चाहेको र पार्टीका बहुसंख्यक नेता तथा कार्यकर्ताहरु फुटको विरोधमा उभिएकै परिस्थितिमा दोस्रो पटक संसद् विघटन भएको उनले श्रृंखला सुनाए ।

उनले युवा संघ र युथफोर्स पार्टीकै जनवर्गीय संगठन भएपनि अहिले प्रभु साहको नेतृत्वमा गठन गरिएको आईटी आर्मीको औचित्य नै नभएको र पार्टीले नचिन्ने टिप्पणी गरे । उनले भने,‘यसमा हाम्रो पार्टी एमालेको टाढाटाढाको पनि सम्बन्ध छैन् ।’ उनले पार्टीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको विकल्प नभएको पनि जिकिर गरे । र, दोस्रो पुस्ताले हस्तक्षेप गर्ने कुरा पनि असम्भव भएको उनको टिप्पणी छ ।
उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलाशले हालै दिएको फैसलाप्रति आफूहरुको रिजर्भेशन रहेको भएपनि आत्मासात् गरिएको सुनाए । उनले भने,‘तर, सर्वोच्च अदालतको ईजलाशले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार फैसला गरेन भनेर जनताले टिप्पणी गरेका छन् । हुन पनि जनताले यो अपेक्षा गरेका थिएनन् ।’ उनले परमादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनेर फैसला आउनुभन्दा अघि नै कुरा चुहाईएको पनि उल्लेख गरे ।

उनले भने,‘यो कुरा किन चुहाईएको थियो भने वातावरण बनाउन रहेछ, एमाले सर्वोच्च अदालतको फैसलाको विरुद्धमा छैन् । र, जाँदैन पनि । हामीले त यो निर्णयलाई आत्मसात् गरिसकेका छौं । तर, हाम्रो यसमा रिजर्भेशन छ । व्यक्तिगत रुपमा मेरो पनि कुनै कमेन्ट छैन् । तर, जनताले प्रश्न उठाएका छन् ।’ उनले सर्वोच्च अदालतको फैसलामा प्रत्येक वाक्यमा राजनीतिक भाषा राखिएको पनि टिप्पणी गरे । नले भने,‘त्यो भाषा पनि उहाँहरुको हो कि होईन ? त्यो पनि आँफै लेखेको हो वा अरुले लेखेर ल्याएको पढेर सुनाईयो ? संसारमा कुनैपनि अदालतमा राजनीतिक निर्णय हुँदैन् । तर, सर्वोच्च अदालतको यो फैसलाले व्यवस्थापिक र कार्यापालिकामाथि आक्रमण गरेको छ ।’ उनले सर्वोच्चले संसद पूनःस्थापनामात्रै गरिदिएको भए जनताले पनि यसमा कुनै आपत्ति जनाउने थिएनन् भन्ने धारणा राखे । तर, रेफ्रीले खेल हेर्ने र अनुशासन हेर्नुपर्नेमा आँफै गोल गर्ने काम गर्नु गलत भएजस्तै सर्वोच्च अदालतले पनि व्यक्तिको नाम नै तोकेर प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिनु कतिको जायज हो ? भन्दै प्रश्न उठाए ।

नेता महासेठले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको आज दुई हप्ता बितिसक्दापनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे । उनले भने,‘देउवाजी अदालतको परमादेशले प्रधानमन्त्री हुनुभयो । तर, सरकार गठन गर्न अझै सक्नुभएको छैन् । कि मन्त्रिपरिषद विस्तार गर्नपनि अदालतको फैसला आउनुपर्ने हो र ?’ उनले कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव, एमालेको माधव नेपाल समूह र जनमोर्चाको गठबन्धन धेरै लामो समय नजाने ठोकुवा गरे । उनले भने,‘उहाँहरुको यो गठबन्धन क्षणिक हो । उहाँहरुबीच विचारधारा नै मिल्दैन् । हिजो कांग्रेस र माओवादीको पनि गठबन्धन हामीले हेरेकै हो । एमाले र माओवादीको गठबन्धन पनि धेरै लामो समय गएन । यो गठबन्धत त पद र प्रतिष्ठाको लागि मात्रै हो । यो लामो समय जाँदैन् ।’
उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरेका कामको लोकप्रियता देखेर विपक्षी दल आँत्तिएको पनि उनले विगत स्मरण गराए । उनले भने,‘त्यही भएर उहाँहरु हाम्रो सरकार ढाल्ने षड्यन्त्रमा लाग्नुभयो । उनले अहिले सत्तारुढ गठबन्धनमा मन्त्री बन्ने आकांक्षीहरु धेरै रहेको पनि सुनाए । उनले भागबण्डाको विवादको कारण पनि वर्तमान सरकार धेरै लामो समय नजाने दाबी गरे । उनले भने,‘अब मन्त्री बन्नकै लागि त्यहाँ विद्रोह सुरु हुन्छ । यो गठबन्धन टुट्न धेरै समय लाग्दैन् ।’ यद्धपी उनले आफूहरुले देउवा सरकारले संसद्को बाँकी कार्यकाल नै चलाओस भन्ने चाहना राखेको भन्दै शुभकामना पनि दिए । उनले भने,‘देउवाजीले पूरा अवधि चलाउनुहोस भन्ने हाम्रो शुभकामना हो । तर, उहाँले चलाउन सकनुहुन्न ।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला पनि चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् । उनले भने,‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन् । महाभियोग लगाउन त्यति सजिलो छैन् । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’
उनले कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरुलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चूनौति दिए । उनले भने,‘महाभियोग लगाएरमात्रै हेर्नुहोस, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरुसँग संख्या पनि पुग्दैन् । महाभियोग लगाएरमात्रै के गर्नु ? त्यो पारित हुन संख्यापनि पुग्नुपर्यो नि । पास हुँदैन् ।’ तर, सभामुखमाथि महाभियोग लगाईए अवस्था के हुन्छ ? भन्दै उनले भने,‘धेरै साथीभाईहरुमाथि पनि महाभियोग लाग्न सक्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौति दिन चाहन्छु ।’