काठमाडौं क्षेत्र नं ५ को सभापतिमा खड्काको उम्मेदवारी घोषणा


काठमाडौं ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रम सुरु भएको छ । काठमाडौं जिल्ला क्षेत्र नं. ५ को नेतृत्व लिन स्थानिय नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस महासमिति सदस्य श्याम खड्काले आगामी अधिवेशनका लागि क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी केन्द्रले क्रियाशिल सदस्यता टुंगाएर अधिवेशनको औपचारिक प्रक्रिया आरम्भ हुनै लाग्दा १३ औं महाधिवेशन अन्र्तगत निर्वाचित इकाई सभापतिहरुको भेला बोलाएर खड्काले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा खड्काले आफ्नो उम्मेदवारी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न भएको बताए ।

उक्त क्षेत्रमा संघ, प्रदेश र स्थानिय तहमा कांग्रेस पराजित भएकाले पार्टी पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको खड्काले बताए । क्षेत्रिय सभापतिमा उनीसहित अन्य आकांक्षीहरुले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । लगातार दुई पटक क्षेत्रिय सभापति रहेका रमेश खड्का तेस्रो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा रहे पनि औपचारिक घोषणा भने गरिसकेका छैनन् । उनी प्रदेश सांसदमा पराजित उम्मेदवार हुन् ।

क्षेत्रिय कार्यसमितिका सचिव जनकराज श्रेष्ठ पनि सभापतिका आकांक्षी देखिएका छन् । लगातार दुई कार्यकाल सचिव रहेका श्रेष्ठ बसुन्धरा सम्पर्क कार्यालय खोले पनि उम्मेदवारीका औपचारिक घोषणा भने गरिसकेका छैनन् । पार्टी महाधिवेशन प्रतिनिधि मनिष जोशीले पनि क्षेत्रिय सभापतिमा आकांक्षा प्रकट गरेका छन् । गएको निर्वाचनमा प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार रहेका जोशीले पनि औपचारिक घोषणा भने गरिसकेको छैनन् ।

कांग्रेसकै युवा नेता राजेश अधिकारीले पनि क्षेत्रिय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । सामाजिक सञ्चालन र सञ्चार माध्यमबाट अधिकारीले क्षेत्रिय नेतृत्व लिन चाहेका बताएका छन् । उनी काठमाडौं महानगरपालिका वर्डा नं. ३ का ईकाई पूर्व सभापति हुन ।