देशमा अब कालोबजारी र मनोमानी चल्दैनः उद्योगमन्त्री यादव


विनय यादव
४ असार, सिरहा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी नचल्ने बताएका छन् ।मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार पहिलोपटक गृहजिल्ला आएका मन्त्री यादवले सिरहाको चोहर्वास्थित रेडक्रसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘व्यापारी व्यवसायीहरुको प्राथमिकतामा व्यवसायसँगै सेवा भाव र उपभोक्ताको हित हुनुपर्छ,’ उनले भने, ‘तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी चल्दैन ।’

ठूलठूला उद्योगहरुमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दावी गरे । जनतालाई हित हुने गरी सेवा भावले मापदण्ड भित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमि नहुने पनि मन्त्री यादवले बताए ।

उद्योगी व्यवयासीहरुको जायज माग सम्बोधनका लागि राज्य पछि नहट्ने बताउदै मन्त्री यादवले भने,‘औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु, देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु ।’

कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले बताए । मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै यही मन्त्रालय भएकाले आफूले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

वर्षायामका महिनामा हरेक वर्ष देशमा खाद्यान्नको अभाव देखिने गरेको भन्दै अब त्यो समस्या अन्त्य हुने उनले बताए । खाद्यान्न तथा उपभोग्यलगायतका सामाग्री आपूर्तिमा कुनै किसिमको समस्या आउन नदिने गरी काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेकोसमेत मन्त्री यादवले बताए ।