संसद विघटन विरुद्धका रिटहरुको आजबाट सुनुवाई हुँदै


काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आजबाट हुने भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आजबाट सुरु हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् । संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ । विपक्षी दलहरुले संसद पुर्नस्थापना गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै आएका छन् ।