सात औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरुको लन्डनमा प्रत्यक्ष भेटवार्ता


लन्डन । विश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु (जी–७) का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ । आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका पछिल्ला कदमहरुले सबैजसो प्रजातान्त्रिक समाज र अन्तर्राष्ट्रिय कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरिरहेको चेतावनी दिएको छ । बेलायतका विदेश मन्त्री डोमिनिक राबले यस बैठकले कुटनीति पुरानै लयमा फर्किएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हाले लगत्तै संयुक्तराज्य अमेरिकाका परम्परागत गठबन्धनलाई पुरानै लयमा फर्काइएको बताउनुभयो । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकलकाँटे नीतिले अमेरिका नै एक्लिएको निष्कर्षमा बाइडेन प्रशासन पुगेको उहाँको भनाई थियो । विदेश मन्त्री ब्लिन्केनले जी–७ का मुलुकहरुले चीनसँग प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्नेमा पनि जोड दिनुभयो ।

दुई दिने यस बैठकमा जी–७ मा आबद्ध मुलुकहरु बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेश मन्त्रीहरु सहभागी हुनु भएको छ । यस बैठकमा म्यान्मारमा भएको सैन्य विद्रोह, सिरियाको मानवीय सङ्कट, इथियोपियाको टिग्रीको सङ्कट तथा अफगानिस्तानको मानवीय सङ्कटका बारेमा पनि छलफल हुनेछ । साथै, बेलायती विदेश मन्त्रालयका अनुसार बैठकमा रसियाले युक्रेनको सीमा क्षेत्रमा बढाएको सैन्य गतिविधि र विपक्षी नेता अलेक्सी नाभाल्नीलाई थुनामा राखिएको विषयमा पनि छलफल हुनेछ । सन् २०२१ का लागि जी–७ समूहको अध्यक्षता गरेको बेलायतले बैठकमा अस्ट्रेलिया, दक्षिण कोरिया, भारत र दक्षिण अफ्रिकाका विदेश मन्त्रीहरुलाई पनि आमन्त्रण गरेको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुन महिनामा हुने जी–७ समूहका नेताहरुको बैठक आयोजना गर्नु हुनेछ ।