माओवादी केन्द्रले फिर्ता लियाे समर्थन (पत्रसहित)


काठमाडाैंः माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे पत्र बुधबार माओवादी केन्द्रले संसद सचिवालयमा बुझाएकाे हाे।संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पत्र बुझाएका हुन्।

प्रधानमन्त्रीले गत पुष ५ मा प्रतिनिधि सभा विघटन गरेसँगै नेकपाकाे प्रचण्ड-माधव समूह सरकारबाट बाहिरिएकाे थियाे। त्यसपश्चात् विकसित घटनाक्रमले नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएकाे थियाे। यद्यपि माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन भने कायमै राखेकाे थियाे। याेसँगै ओली नेतृत्वकाे सरकार अल्पमतमा परेको छ भने वैशाख २७ गते साेमबार बस्ने प्रतिनिधि सभाकाे विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेकाे छ।