‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै


धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए ।

भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ । महाप्रबन्धक भट्टराईको अनुसार माघ १५ गतेभित्र रेल सेवा सञ्चालन गर्नका लागि आवश्यक मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आइपुग्दैछ । त्यसका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेशनसँग सम्झौता हुने भएको उनले बताए ।

त्यसैगरी रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जानकारी दिए । निजामतीबाट आउने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र पठाइसकेको जनाइएको छ । भारतीय जनशक्ति माघ १५ गतेभित्र नेपाल आइपुगेपछि रेल्वे सञ्चालनका लागि गर्नुपर्ने विभिन्न परीक्षण गर्नुका साथै नेपालका कर्मचारीलाई आवश्यक तालीम प्रदान गर्नेछ ।

अहिले पहिलो चरणमा जयनगरदेखि कुर्था खण्डमा सञ्चालनका लागि गत असोज २ गते भारतबाट ल्याइएका दुई वटा डेमो रेल इनर्वास्थित स्टेशनमा पार्किङ गरी राखिएको छ भने रेल्वेको सुरक्षाको जिम्मा पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बललाई दिइसकेको छ  । अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् ।

रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा साधारणमा ७० रुपैयाँ र एसीमा ३०० सम्म तोकिएको छ ।