कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक फेरी स्थगित भएको छ । भोली (मंगलबार) दिउँसो १ बजेको लागि डाकिएको बैठक माघ १३ सम्मको लागि स्थगित गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

माघ ८ गते प्रतिनिधिसभा विघटन विरुध्द हुने देशव्यापी विरोध प्रदर्शनको तयारीको लागि बैठक सारिएको शर्माको भनाई छ ।यस अघि पुस २७ गतेको लागि बस्ने भनिएको बैठक पनि भोली मंगलबारसम्मको लागि स्थगित भएको थियो ।

कांग्रेसले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेको भन्दै विरोध प्रदर्शन गरिरहेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।