काठमाडौं । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न केही दिनमात्रै बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने तयारी शुरु भएको छ ।महाअभियोग प्रस्तावमा २ सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरिसकेको बीबीसीले जनाएको छ । प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुले बताएका हुन् । महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले भने ट्रम्पलाई राजीनामा दिन सल्लाह दिइरहेका छन् ।

सभामुख नेन्सी पेलोसीले पनि राष्ट्रपति ट्रम्पबाट संविधान र लोकतन्त्र खतरामा पर्ने सम्भावना बढेकोले उनीमाथि महाअभियोग लगाउन सदनले उचित कारबाही गर्नसक्ने संकेत गरेकी छन् । पेलोसीका अनुसार ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले मन्त्रिमण्डललाई मनाएपछि २५ औं संशोधन लागू हुने र पेन्सले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुन्त पद सम्हाल्ने छन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पमाथि हिंसालाई बढावा दिएको र अमेरिकी सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप लगाइने सम्भावना छ । गत हप्ता मात्रै ट्रम्पका समर्थकहरुले ५ जनाको ज्यान जाने गरी अमेरिकी संसदभित्रै घुसेर आक्रमण गरेका थिए । अमेरिकाको राष्ट्रपतिमा जो बाइडन विजयी भएको औपचारिक घोषणा गर्न नदिने उद्देश्यले उनीहरुले आक्रमण गरेको लावी गरिएको छ । अमेरिकी संसदले बाइडन राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिसकेको छ भने उनले यो पद सम्हाल्न अब जम्मा ९ दिन बाँकी छ ।