विश्वभर ९ करोड बढी संक्रमित, १९ लाख ३३ हजार बढीको मृत्यु


काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । हालसम्म विश्वमा संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४४ लाख ५० हजार नाघेको छ ।

अहिलेसम्म १९ लाख ३३ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १२ हजारभन्दा धेरैको मृत्यु भएको छ । सक्रिय संक्रिमतको संख्या २ करोड ३६ लाख ७० हजार ३४६ छ । यसमध्ये १ लाख ८ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड २६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ८१ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।