वाग्मती सफाइ महाअभियानको ४००औँ हप्तामा (फोटोफिचर)


पुस, काठमाडौं ।
वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ता प्रवेश गरेको छ । अभियान ४०० औ हस्तापमा प्रवेश गरेको अवसरमा उपत्यकाका सात स्थानमा जनचेतनामूलक सफाइ अभियानसहित जागरणमूलक पोस्टर टाँस गरिएको छ । शनिवार ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नाराका साथ आज ४००औँ हप्ताको कार्यक्रम सम्पन्न गरिएको छ ।

विशेष कार्यक्रमअघि राजधानीका साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन गरी सात स्थानमा जनचेतनामूलक अभियानसहित सफाइसम्बन्धी पर्चा वितरण र पम्प्लेट टाँसिएको थियो । सातै स्थानमा सफाइ अभियानकर्मीको नेतृत्वमा समूह परिचालन गरिएको थियो ।

विशेष कार्यक्रममा कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, नायिका एवं वाग्मती सद्भावना दूत मनीषा कोइराला, गायिका आनी छोइ डोल्मा, अभियानकर्मी लीलामणि पौडेल लगायतले वाग्मती सफा नभएसम्म महाअभियान जारी रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सचिव सिंहले स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान भन्ने मुल नारा सहित बि.स २०७० जेष्ठ ५ गतेबाट शुरु भएको वागमती सफाइ महाअभियानले आजबाट ४००औं हप्ता पूरा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । हरेक शनिबार अनवरत रुपमा जाडो, गर्मी, पानीझरी, केही पनि नभनि स्वतस्फूर्त स्वयंसेवी रुपमा आफुलाई सफाईमा समर्पित गर्नुहुने अभियन्ता, सरकारी तथा गैर सरकारी निकाय, संघ संस्था, लगायत सम्पूर्णमा उनले आभार प्रकट गरे । सचिव डा. सिंहले यस बर्ष कोरोना महामारीको बीचमा पनि वागमती सफाइ अभियानलाई निरन्तरता दिनु प्रसंनिय काम भएको बताए ।

२०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव पौडेलको अग्रसरतामा शुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि ४०० हप्ता प्रवेश गरेको हो । शुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् ।

सफाइबाट हालसम्म २० हजार मेट्रिक टन फोहाेर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिकालगायत स्थानीय तहले फोहर व्यवस्थापन गर्ने गरेका छन् । फोहर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले बताए ।

उनका अनुसार सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् । वाग्मती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत स्थानमा सफाइ अभियान चलेको छ ।