राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई छ : मन्त्री थापा


काठमाडौँ । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताउनुभएको छ ।मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उहाँले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पार्नुभयो । रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु भनेको देश पछाडि धकेलिनु हो भन्नुभयो ।

संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उहाँले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिनुभयो ।

सञ्चारकर्मीले सोधेका एक जिज्ञासामा उहाँले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गर्नुभयो । “वर्तमान सङ्कटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन”, उहाँले भन्नुभयो ।

उहाँले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएकाले पार्टीको वैधानिकता पाउने जिकिर गर्नुभयो । आफूले जीवनमा कसैलाई पनि धोका नदिएको मन्त्री थापाको भनाइ थियो ।

बहुमत प्राप्त सरकार हुँदा पनि सही ढङ्गले सञ्चालन हुन नसक्दा उक्त निर्णय लिएको उहाँको भनाइ थियो । “पार्टीभित्रको झगडाले देश अस्थिरतातिर जान नपाओस् भनेर त्यसलाई रोक्न निर्वाचन घोषण गर्नु परेको हो”, उहाँले थप्नुभयो, “यो राजनीतिक निर्णय हो कानूनी निर्णय होइन, राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई छ ।”

उहाँले बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जाने कुरा गर्नु उहाँको अधिकार भएकाले अन्तरराष्ट्रियरुपमा नै उक्त निर्णय गलत नहुने बताउनुभयो । संसद् पुनःस्थापना भने हुनै नसक्नेमा उहाँको जोड छ ।

निर्वाचनले मात्रै मुलुकमा स्थायित्व र सङ्कटको समाधान गर्ने उल्लेख गर्दै मन्त्री थापाले भन्नुभयो, “अन्ततः जनता नै न्यायाधीश भएकाले नागरिकले हामीलाई दण्ड दिन पनि सक्ने र अरुलाई दण्ड दिन पनि सक्ने छन् ।”