कांग्रेसद्धारा देशव्यापी आन्दोलनको घोषणा


काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले केन्द्रदेखि वडा तहसम्म आन्दोलन घोषणा गरेको हो । आइतबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।
केन्द्रीय समितिको बैठक बस्नु अघि शीर्ष तहमा आन्दोलनको विषयमा लामो छलफल भएको थियो । शीर्ष तहमा भएको समझदारी अनुसार केन्द्रीय समिति बैठकमा पेश भएको प्रस्ताव बैठकले अनुमोदन गरेको थियो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले माघ ३ गते ७५३ गाउँपालिका माघ ८ गते ६ हजार ७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने निर्णय भएको बताउनुभयो । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको बताउदै शर्माले कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको बताउनुभयो ।

बैठकले महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । यसअघि मंसिर मसान्तलाई तोकिएको क्रियाशील सदस्यता वितरणको समय बढाएर माघ मसान्तसम्मलाई थप गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।
कांग्रेसले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश लोकतान्त्रिक मूल्य, मान्यता विपरीत भएको दोहो¥याएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो निष्कर्ष निकालेको छ ।

पुस ५ गते संसद विघटनकै दिन पार्टी पदाधिकारीको बैठकले सरकारको कदमको विरोध जनाएको थियो । पुस ७ गते केन्द्रीय कार्यसमिति बैठकले पहिलो चरणमा पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन कार्यक्रम गरेको थियो । ‘संसद विघटनको असंवैधानिक कदमका वि?द्ध एउटै निर्णय र प्रष्ट धारणा साथ कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ’,प्रवक्ता शर्माले भन्नुभयो । आइतवारको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य जीवन बहादुर शाहीले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय समितिको बैठक पुस २७ गते पुनः बस्नेछ ।