विघटित संसद अब कुनै पनि हालतमा बौरिदैनः प्रधानमन्त्री ओली


१९ पुस, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब विघटित प्रतिनिधिसभा नब्युँतने बताएका छन् । उनले २०७८ सालको वैशाखमा प्रतिनिधिसभाको निर्वाचन भएरै छाड्ने बताएका हुन् । ‘भ्रममा नपर्नुहोस्,चुनाव वैशाख १७ गते र २७ गते गरेर दुई दिनमा हुन्छ, अब चुनावलाई टार्न कसैले सक्दैन, प्रधानमन्त्री ओलीले भने ।

कसैकसैले मरेको संसद् व्युउँताई पाउँ भनेर मुद्दा हालेकाले आफूले त्यसको फिराद पत्र दर्ता गराएर आएको बताउदै उनले विघटित संसत नबौरने बताए । अब संसद विघटन भयो भयो, निर्वाचन हुन्छ हुन्छ, उनले भने । आइतवार काठमाडौँमा अनेरास्ववीयुले आयोजना गरेको भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले सुकेको पात्र एकछिन हल्लिए पनि एकछिन् पछि आफै थन्को लाग्ने बताए ।

‘पार्टी भित्रै बसेर देशको समय बर्बाद गर्ने प्रयास भयो, त्यसैले संसद् भङ्ग गर्नुप¥यो’,ओलीले भने,‘अब बन्ने संसद् आफू र आफ्ना परिवारका लागि मात्र सोच्नेको नबनी देश बनाउने, जनताको समस्या समाधान गर्नेहरूको मात्र बन्नु पर्छ ।’ प्रधानमन्त्री ओलीले प्रचण्ड माधवहरूले पार्टी फुटाउन एक वर्षमा ३ सय १५ वटा बैठक बसेको दावी गरे । उनले समामुख जस्तो मान्छे किर्ते कामको साक्षी बसेको बताउँदै यसले संसदीय व्यवस्थाकै हुर्मत लिने काम भएको आरोप लगाए ।