एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज राति प्रतिष्ठित खेलमा चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा राति १०ः१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा चेल्सी सिटीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । सिटीलाई हराउन सके चेल्सीले टोटेनहम, लेस्टर र एभर्टनलाई पछि पार्नेछ । चेल्सीको १६ खेलबाट २६ अंक रहेको छ ।

तर, पछिल्लो पाँचमध्ये तीन खेल गुमाएको चेल्सीको लागि सिटीविरुद्धको खेल कठिन हुनेछ । टोलीमा टिमो वेर्नर र काई हाभर्टजले आफ्नो लय समात्न सकेको छैन ।

मासन माउन्ट, ट्याम्मी अब्राहम, ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस, एङ्गोलो कान्टे, माटियो कोभासिस, बेन चिलवेल, थियागो सिल्भा, कोर्ट जोउमा र गोलरक्षक इडुआर्ड मेन्डी टोलीसँग रहेको छ । चोटका कारण हाकिम जियाच र रिस जेम्स टोलीसँग रहेका छैनन् ।