काठमाडौं । जनकपुर–जयनगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो ।

औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेलवे लिकको ‘क्लिप’ चोरी भएपछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर लिक निर्माण भैसकेको छ । कुर्थाबाट महोत्तरीको बिजुलपुरा हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलवे लिक निर्माण जारी छ ।

निर्माण सम्पन्न भएको लिकको ६ सयभन्दा बढी क्लिप चोरी भएको सुचना आएपछि गृह मन्त्रालयले त्यहाँ सशस्त्र प्रहरी खटाउनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।