काठमाडौं । 

भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ।बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिए। भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ।

भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने छ।  भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

नेपाल सरकारले अक्सफोर्ड-अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए।