काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’विरुद्ध नेपाली कांग्रेस र आफूहरूका बीचमा समझदारी हुने विश्वास ब्यक्त गरेका छन् । लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू जतिसुकै लचिलो हुन पनि तयार रहेको उनको भनाई छ ।

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषी धमलालाई अन्तरवार्ता दिँदै प्रचण्डले संविधान र प्रणाली बचाउने तथा स्थायित्व र विकास दिने सर्तमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री बनाउन आफूलाई केही अप्ठ्यारो नहुने प्रचण्डको भनाइ छ । ‘मुख्य काम संविधान बचाउने हो, फेरि प्रधानमन्त्री म दावी गर्दिनँ,’ प्रचण्डले भने, ‘संसद पुनस्र्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो ।’

प्रचण्डले परिवारका लागि राजनीति गरेको भनी आफूमाथि लागेको आरोपको खण्डन पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै प्रचण्डले यस्तो आरोप निरंकुश तानाशाहले मात्र लगाउन सक्ने बताए ।