अध्यक्षद्धय ओली–प्रचण्डको आरोप प्रत्यारोप पत्र स्थायी समितिले छिनोफानो गर्ने


२० मंसिर, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र जारी विवाद स्थायी समिति बैठकमा जाने भएको छ । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले विवाद चर्काएपछि स्थायी समिति बैठकमा थप छलफल हुने भएको हो । सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने अडानबाट पछि हटदै स्थायी समिति बैठकमा छलफल गर्न सहमत हुनुभएको छ ।
पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न पार्टीको सर्वोच्च निकाय मानिएको सचिवालय असफल भएको छ । यसअघि पार्टीभित्र देखिएको विवादको समधान गर्न सफल भएको सचिवालय यस पटक भने असफल भएको छ ।
एक महिना अघिबाट सुरु भएको सचिवालय बैठकमा गत कात्तिक २८ गते अध्यक्ष ओलीमाथि आरोप लगाउदै प्रश्न सहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जुन प्रस्तावले नेकपामा नयाँ तरंग ल्याएको थियो । प्रचण्डको प्रतिवेदनको जवाफ नदिने अडान लिएपनि मंसिर ३ गते प्रतिवेदनको लिखित जवाफ दिने जानकारी गराउदै अध्यक्ष ओलीले दस दिनको समय मागेका थिए । मंसिर १३ गते बसेको सचिवलय बैठकमा प्रचण्डले पेश गरेको १९ पेजको प्रतिवेदनको जवाफ दिदै ३८ पेजको लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मंसिर १७ गते बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने ओलीले अडान लिनुभएको थियो । ओलीलाई सहभागी हुन सचिवालय बैठकले तीन दिनको अल्टिमेटम दिएको थियो । अन्ततः शनिवार अध्यक्षद्धय ओली र प्रचण्डबीच वान टु वान वार्ता भएपछि ओली सचिवालय बैठकमा सहभागी भएका िथए ।
सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ, उनले भने ।