नेकपाको निर्णायक बैठक वालुवाटारमा सुरु, ओली पनि सहभागी


२० मंसिर, काठमाडौं ।
निर्णायक मानिएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । यसअघि गत मंगलबार बसेको बैठकमा ओली सहभागी भएका थिएनन् ।सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय गरेको थियो ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वा टू वान’ वार्ता समेत भएको थियो । दुई अध्यक्षबीच भएको कुराकानी भएपनि अध्यक्ष ओली पनि बैठकमा सहभागी भएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए ।यस्तै मंसिर १३ को बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका हुन् । दुवै अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल गरेर निष्कर्ष निकाल्ने गरी छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।