प्रधानमन्त्री ओलीद्धारा गोदावरीको सभा हलको काम चाँडै सम्पन्न गर्न निर्देशन


ललितपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीस्थित सभा हलको अवलोकन गर्नुभएको छ । आइतवार शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, मन्त्रलायका सचिव डा. रमेश प्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालसँग सभा हलको हालसम्मको प्रगति विवरण बारे जानकारी लिन अकस्मात गोदाबरी पुग्नुभएको थियो ।
सो क्रममा उहाले हालसम्मको प्रगतिको प्रशंसा गर्दै अबको तीन महिना भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । अवलोकनको क्रममा उहाले सो हल चाडै सम्पन्न गरी महत्वपुर्ण कार्यक्रम यही हलमा गर्नसक्नेगरी तयारी गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा शहरी विकास मन्त्री श्रेष्ठले नेकपाको सरकार बनेको तीन वर्ष पुगेको दिन अर्थात फागुन ३ गते उद्घाटन गर्नेगरी तयार गर्न निर्देशन दिनुभएको थियो । माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
प्रम ओलीलाई प्रगतिविवरणबारे जानकारी गराउदै मन्त्री श्रेष्ठले विभागका अधिकारीलाई भन्नुभयो–मलाई आजबाटै प्रत्येक हप्ताको प्रगति विवरण जानकारी गराउनुस । उहाले मन्त्रालयले सोच अनुसार कामको प्रगति हुदै गएको बताउनुभयो ।
मन्त्रीको धारणा सुनेपछि प्रम ओलीले शहरी विकास मन्त्री श्रेष्ठको निर्देशन अनुसार प्रगति विवरण तयार गर्न निर्देशन दिनुभएको थियो ।
२०७६ असोज २० गतेबाट निर्माण शुरु भएको सो हल यही २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधिन सो हल केसी–समानान्तर जेभिले ५८ करोड २४ लाख रुपियामा ठेक्का पाएको हो ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले हलको बारेमा जानकारी गराउदै हालसम्म ६५ प्रतिशत प्रगति भैसकेको जानकारी गराउनुभएको थियो । ४३ रोपनी मध्य ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगैचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भैरहेको छ ।
कोभिड–१९को कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको जानकारी गराउदै गेलालले भन्नुभयो–अब माघभित्र सम्पन्न गर्ने अन्तिम तयारी गरेका छौ । मन्त्री श्रेष्ठले कोभिडको कारण उत्पन्न समस्या अब समाधान भैसकेको बताउदै स्वाथ्य मापदण्ड अनपाएर थप मजदुर परिचालन गरी तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।