बलात्कारीलाई नपुंसक बनाउने कानुन


अबुजा,एजेन्सी ।

महिला तथा बालिकामाथि बलात्कारको बढ्दो घटनाका कारण आक्रान्त नाइजेरियामा कदुना प्रान्तको सरकारले बलात्कारीलाई शल्यक्रियाद्वारा नपुंसक बनाउने फैसला गरेको छ। कुनै अपराधीले १४ वर्षभन्दा कम उमेरका बालिकामाथि उक्त कुकृत्य गरेको ठहरिएमा उसलाई फाँसी दिइने भएको छ। सरकारले यस सम्बन्धमा ल्याइएको कानुनमा हस्ताक्षर गरेको छ।

कोरोना भाइरस प्रतिबन्धका कारण देशमा बलात्कारको घटनामा अत्यधिक वृद्धि भएको छ। यसले नागरिकमा व्यापक आक्रोश बढाएको छ। जनताको आक्रोशलाई ध्यानमा राख्दै राज्यका गभर्नरले आपत्कालीन स्थितिको घोषणा गरेका छन्। यस गम्भीर अपराधबाट बच्चालाई जोगाउन अत्यन्त कडा कदम उठाउन आवश्यक भएको गभर्नर नसिर अहमद इल रुफइले बताएका छन्।

देशमा वृद्धि भइरहेको बलात्कारको घटनाका कारण महिला अधिकारकर्मीले बलात्कारीमाथि कठोर कारबाही गर्न माग गरेका छन्। उनीहरूले अफ्रिका महाद्वीपमा सबैभन्दा धेरै आवादी भएको देशमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका थिए। राज्यको नयाँ कानुनमा १४ वर्षभन्दा बढी उमेरका महिलामाथि बलात्कार गर्ने बलात्कारीलाई आजन्म कैदको सजाय दिने व्यवस्था गरिएको छ।

यति मात्र होइन बलात्कारीलाई शल्यक्रिया गरी नपुंसक पनि बनाइने छ। यदि, कुनै पुरुषले १४ वर्षभन्दा कम उमेरका बच्चालाई बलात्कार गरेमा उनीहरूको गर्भाशय निकालिनेछ।केही दिनअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बलात्कारीलाई फाँसी दिन सुझाव दिएका थिए। इमरानले बलात्कारीलाई रासायनिक बन्ध्याकरण गर्न पनि सुझाव दिएका थिए।

इमरान खानले यौन दुव्र्यवहार गर्नेको एक राष्ट्रिय पञ्जीकरण बनाउन पनि आह्वान गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले एक टेलिभिजन च्यानलसँगको वार्तामा बलात्कारीलाई तत्काल रासायनिक बन्ध्याकरण गर्न आवश्यक भएको बताएका थिए। यदि, त्यस्तो हुन नसकेमा कम्तीमा बलात्कारीलाई भविष्यमा पुनः त्यस्ता यौन अपराध गर्न नसकिने गरी जबरजस्ती शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए।