पदक विजेता खेलाडीमाथि अपमान


काठमाडौं । संविधान दिवसको दिन राष्ट्रपति श्रीमती विद्या भण्डारीबाट विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषण घोषणा भएको छ। जसमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण विजेतामध्ये १५ जना खेलाडी पदकबाट विभूषित हुने भएका छन्। साथै, ओलम्पियन संगीना वैद्य, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका विभागीय प्रमुख कुलबहादुर थापा पनि विभूषित हुने सूचीमा परेका छन्।

तर, १३औं सागका स्वर्ण विजेता र बाँकी खेलाडी विभूषित नभएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको ध्यानाकर्षण भएको छ। संघले शनिबार नै विज्ञप्ति प्रकाशित गरेर सोको ध्यानाकर्षण गराएको हो। विज्ञप्तिमा भनिएको छ– ‘सागको इतिहासमा यतिका सफलता प्राप्त गर्दा पनि सरकारले मानपदवी दिँदा स्वर्ण विजेता खेलाडीप्रति सम्मानको हकदार बनाएन।’

संघका अध्यक्ष दीपक श्रेष्ठले भने– खेलाडीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए, तर हाल सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले भने अपमान महसुस गर्नुपर्ने दुःखद अवस्था सिर्जना भएको छ।’

युवा तथा खेलकुद मन्त्रालयको निर्देशन भन्दै राखेपले १३औं सागका स्वर्ण पदक विजेतालाई यही मानपदवीका लागि भन्दै फाराम भर्न लगाएको थियो। सो प्रसंगमा पनि श्रेष्ठले संघ गम्भीर नभएको भन्दै उनले भने– ‘सागका हरेक खेलाडी मानपदवीको हकदार छन्। फाराम भराउनु नै गलत थियो। फाराम भरायो तर सम्मान दिएन। यदि, सम्मान गर्न सक्दैन भने अपमान गर्ने अधिकार कसैलाई रहँदैन।’ आजको नेपाल समाचारपत्रबाट