प्रधानमन्त्री कप क्रिकेट : वाग्मतीद्वारा सुदूरपश्चिम पराजित


काठमाडौँ ।चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वाग्मती प्रदेश विजयी भएको छ । वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई १८१ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मतीले पहिला ब्याटिङ गरेको थियो । वाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो । तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो ।

वाग्मतीका लागि पृथु बाँस्कोटा र आदिल खानले अर्धशतकीय पारी खेले । बाँस्कोटाले ९४ बलमा ८४ रनको योगदान दिए । यसक्रममा उनले दुई छक्का र १० चौका प्रहार गरे । यस्तै खानले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३२, विपीन आचार्यले ३२, पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ तथा रामनरेश गिरीले अविजित १० रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन, भोजराज भट्ट र सन्तोष भट्टले दुई दुई तथा विनोेद लामाले एक विकेट लिए । तीन सय रनको विजय लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरमा ११९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमले ६ ओभर खेल्दा पाँच विकेट गुमाएको थियो । त्यो बेला उसको स्कोर१८ मात्र थियो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले अविजित ४४, अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन बनाए । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै ३२ रन मात्र खर्चिए। यस्तै नन्दन यादवले दुई तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपीन आचार्यले एक एक विकेट लिए ।